नमस्ते ! यो ब्लगमा तपाँइ लाई स्वागत छ ! www.subashmagar.blogspot.com म र मेरो रोजाइ..... सुबास आले मगर !!!.

सुवास ब्लग “म” र मेरो रोजाई....

यो ब्लग “म र मेरो रोजाई” का पन्नाहरु मा यहाँ हरु लाइ स्वागत छ!!

फेसबुकमा “म”

सामाजिक सन्जाल फेसबुक मा मलाइ भेट्नी बाटो यहाँ छ [FACEBOOK सुवास मगर ]

टुइटरमा “म”

सामाजिक सन्जाल टुइटर मार्फत मलाई फलो गर्न चाहनुहुन्छ भने यहाँ जानुहोस [SUBASH TWITTER]

सात तले दरबार

नुवाकोट को एतिहासिक सात तले दरबार र संगै देखिएको भैरबी माई को गजुर

SUBASH BLOG म र मेरो रोजाई

म र मेरो रोजाई को ब्लग मा यहाँ लाइ स्वागत छ !!

Saturday, January 30, 2016

झ्यालतिरकी युवती - भाग ३ (अन्तिम भाग)

सेतो पाटी बाट साभार 
लेखक : भानुभक्त 
उसले मेरो सिट बेल्ट लगाई दिई। 
कानमा एयर फोन घुसाइदिएर अगाडिपट्टिको स्क्रिनमाअंग्रेजी फिल्म बजाई र भनी– बेलाबेलामा झ्यालबाट पनि हेर्नु, मान्छे कत्रा देखिन्छन्? उ पत्रिका पल्टाउन थाली। 
म पहिलो पटक जहाज चढेको थिएँ। बसमा भेटिँदा झ्यालतिरको सिट मागेकी उसले त्यही बुझेर हो कि किन हो मलाई झ्यालतिरै बस्न दिई। 

झ्यालबाट हेर्दा तल मान्छे होइन बादल देखियो। सानो छँदा गाउँमा जब चिलगाडी (हवाईजहाज)को ग्वाँ....ग्वाँ.... आवाज आउँथ्यो। म खाइरहेको भात छोडेर दौडन्थें। आकाशमा हेरेर काँधमा हाल्ने क्रस फित्ता भएको कट्टुको पछाडिको भाग देखाउँथें अनि पेटैदेखिको बल लाएर चिच्याउँथे– ए चिलगाडी, मेरा बुवालाई भन्दिएई–तेरा छोराको कट्टु च्यातिएको छ, नयाँ ल्याईदिनु।

ती चिलगाडी कहाँ जान्थे थाहा थिएन। म चिच्याएको सुन्थे वा सुन्थेनन् त्यो पनि मतलब हुन्थेन्। जब बुबा बम्बैबाट आउँथे म लाडे पल्टिदै भन्थें– मैले चिलगाडीसित भन्या थें। मेरो कट्टु च्यातिया छ।  बुवाले ल्याएको नयाँ कट्टु लगाएर सोच्थें– सबै चिलगाडा बम्बै जाँदा रैछन्।

‘...एण्ड हाफ ब्लाक लेबल प्लिज‘ उसको आवाजले मेरो स्मृतिको रिल टक्क रोकियो। फर्किएर हेरें। एयर होस्टेससँग उ खानेकुरा मगाईरहेकी थिई। काठमाडौंबाट दोहाको गन्तव्य पछ्याइरहेको जहाजकी एयर होस्टेसले मतिर हेरेर भनी– एक्जुमी सर। मैले केही बोल्न नपाउँदै उसले भनिहाली– सेम। 

कफी सपमा त के खान्छौ भनेर सोधेकी थिइन, जहाजमा झन् के सोध्थी, मेरोभन्दा बढी उसैलाई थाहा थियो। 

दोहाको ट्रान्जिटमा उसले तिहारको बेला कोठामा भएको घटनाको कुरा निकाली–तिमी महिलाबारे त्यति कन्जरभेटिभ छौ भन्ने सोचेकी पनि थिइन। थाहा छ त्यो दिनदेखि तिम्रो अनुहार पनि नहेर्ने प्रमिस गरेकी थिएँ।‘ 
‘अघिल्लो जुनीमा धर्मकर्म त धेरै नै गरेकी रैछ, जस्को अनुहार नहेर्ने प्रमिस गरेकी थियौ उसैसँग हनिमुन मनाउन पाइरहेकी छौ‘ मैले हाँस्दै भनें। 
‘धर्म, कर्म, लोग्ने, स्वास्नी के रै छ त्यो त उता गयौ भने थाहा पाउछौ‘ उसले भनी ‘स्वास्नीमान्छेलाई दबाउनु पर्छ भन्ने तिम्रो सोच पुरै ३ सय ६० डिग्री बदलिन्छ।‘
‘म त महिलालाई उ यसरी राख्नुपर्छ भन्छु, जहाँ पुगेपनि के मतलब‘ हाम्रो अघिल्लतिर बसेकी एक बुर्काधारी महिलालाई देखाउँदै भनें।
‘तिम्रो नि अनुहार हेर्यो भने माया लाग्छ सोच सम्झ्यो कि पारो तात्छ।‘ 
‘तिम्रो पारो तताउन सेलाउन तिमीलाई पुरै अधिकार छ‘ मैले भने ‘फेरि कतारमा गर्मी धेरै हुन्छ रे पारो त त्यसैपनि तातिहाल्छ‘ उसले मुख बिगारी। जवाफ फर्काइन। 
अर्को जहाजका लागि दुबै जनाको बोर्डिङ पास उसैले ल्याई। जहाज दोहाबाट उड्यो। स्क्रिनमा नक्सा देखाउँदै उसले भनी–यी जहाज उड्ने बाटो यो हो। 
***
दुइटा टिकट दिँदै काउन्टरको केटाले सोध्यो– किन जान लाग्नु भो म्याम? 
टिकट समाउँदै उसले भनी– देख्नुभएन मंसिर लागेको, हनिमुन मनाउन नि। 
त्यो केटाले पुलुक्क मतिर हेर्यो। गहिरो सोचमा डुबेजस्तो निन्याउरो अनुहार पारेर म कुर्सीमा बसेको थिएँ। उसले हेरेको देखेर फिस्स हाँसे। 
‘यो तिम्रो टिकट। टु वे हो हराउला नि फेरि‘ उसले भनी। 
टिकट समातेर म उसको पछि लागें। 
हेल्मेट लगाएर उस्ले स्कुटरको स्टान्ड हटाई र भनी– स्वास्नी मान्छेले चलाएको स्कुटरमा बस। म बस्न खोज्दै थिएँ उसले थपी– अनुहार हेर्यो भने तिम्रो माया लाग्छ सोच सम्झ्यो कि पारो तात्छ। 

मैले केही बोलिनँ। उसले स्कुटर कुदाई। पुरानो बसपार्क पुगेपछि ब्रेक लाउँदै भनी– पर्सी टाइममै एयरपोर्टमा पुग्नु नि फेरि। तिम्रो गाउँ जाने जिपजस्तो होइन, प्लेन टाइमै उड्छ।

कीर्तिपुर आउने बस कोचाकोच थियो। केही केटाहरू छतमा चढेका थिए। म उनीहरूकै हुलमा मिसिएँ। 

तिहार सकिएपछि खुसीले मेरो भूईंमा खुट्टा थिएन। २ हप्ते तालिमका लागि विदेश जाने भएको थिएँ। फेसबुकमा स्टाटस राखेपछि बधाइको ओइरो लाग्यो। धेरैले भने– खप्परमा त लेखेरै ल्याको रैछस्। जिन्दगी बनाइस्। 
सबैभन्दा पुछारमा आभा लिम्बूको कमेन्ट थियो– बधाई छ, बरु सँगै जाऊँ। 

एकाबिहानै कोठाबाट बेपत्ता भएकी उसको कमेन्टले मेरो मुटुमा हलचल ल्यायो। उही हो कि अरु हो भनेर चार/पाँचचोटि कमेन्ट पढें। मन थाम्न सकिनँ। फोन गरें। 
‘हेलो मिस्टर कन्जरभेटिभ पत्रकार, सञ्चै छौ?' उसले पुरानै स्टाइलमा सोधी।
तिमी पनि अमेरिका जान लाग्या हो र? 
‘हो नि।‘ उसले भनी। 
किन?
‘हनिमुन मनाउन‘ उ हाँसी।
कोसँग?
अँ...एक्लै।
द्वन्द्व व्यवस्थापन विषयमा पढ्न उसले अमेरिकाको एक विश्वविद्यालयबाट छात्रवृत्ति पाएकी रैछ। जागिरबाट राजीनामा दिइसकेको बताई। ‘सँगै जाउँ‘ उसले भनी ‘कमलादीमा एउटा चिनेको ट्राभल एजेन्सी छ, पैसा ल्याएर भोलि टिकट काट्न त्यहीँ आउनु।
***
हनिमुन कस्तो भइरहेको छ?
मेट्रो स्टेशनको बाहिर कुरिरहेकी उसलाई मैले सोधें।
उत्तर नदिई उ सरासर स्टेशन भित्र गई। एटिम कार्ड जस्तो चिज मेरो हातमा थमाई। उस्ले अर्को त्यस्तै कार्ड मेसिनमा टच गरी। बन्द ढोका स्वाट्ट खुल्यो। मैले पनि त्यसै गरें। ‘देख्यौ चमत्कार,‘ उसले भनी ‘यो कार्डमा पैसा छ।‘
‘काठमाडौंमा पनि मेट्रो रेल चलाउने भन्या छन्, यस्ता जाबा चमत्कार त उतै भइहाल्छ नि‘ मैले भने। उसले बोल्ने शब्द पाइन। मेट्रो चढिसकेपछि सोधी– तिमीलाई यहाँको सबभन्दा के मन पर्यो? 
‘हाइटी खैरेनी र मोटा ओठ भएकी कालीहरू‘ मैले भने ‘एउटी कालीलाई बुहारी बनाएर लिन पाएको भए आमा के भन्दी हुन्?‘
उस्ले पुलुक्क मेरो अनुहार हेरी र भनी– अनि म?
तिमी त छँदै छौ, मर्दकी दुईचार वटी हुन्छन् रे नि त। 
‘तिमी संसारको जुन कुनामा गए पनि नसुध्रिने भयौ‘ उसले भनी ‘अनुहार हेरे माया लाग्दो सोच सम्झ्यो कि पारो तात्ने।'
दुई हप्ते तालिम सकेर म अर्को दिन नेपाल फर्किदै थिएँ। दिनभरि उसले कताकता घुमाई। मलाई सबै ठाउँ उस्ताउस्तै लागे। 

साँझ उसले रात्री क्लबमा लिएर गई। मैले मेसो पाउन नसकेको गीतको धुनमा केटाकेटी सँगै नाचिरहेका थिए। उ पनि हुलमा मिसिई। म कुर्सीमा बसेर काली केटीहरूका मोटा ओठ र घुम्रिएको कपालमा आँखा डुलाइरहेको थिएँ। एउटा काले केटो उसका दुबै हात समाएर नाच्न थाल्यो। 
उसको नजिकै  गएर भनें– म जान्छु, जे मन लाग्छ गर्नु। 
उसले काले केटाको हात चटक्क छोडी र मेरो पछि  लागी। 
‘आइन्दा यस्ता क्लबमा न आउनु, नत्र नेपाल फर्किएयौ भने सीतालाई जस्तै अग्नी परीक्षा लिन्छु‘ मैले धम्क्याएँ।
‘दुनियाँ देखिसके पनि नबदलिने तिम्रो कन्जरभेटिभ सोचलाई माने मैलें‘ उसले भनी।

अर्कोदिन मलाई छोड्न उ  डेलस विमानस्थलसम्म आई। मेट्रोबाट झरेर सिल्भर लाइन एक्प्रेस बसमा आउँदा भन्दै थिई– देश भनेको यस्तो हुनुपर्छ। हेर यहाँको विकास। उता गएर कुन नेताले के भन्यो, कुन हिरोइनको कोसँग अफयेर र ब्रेकअप भयो भन्नेमात्र नलेख्नु। देश कसरी विकास गर्न सकिन्छ भनेर लेख्नु। मैले कुरा बुझेंझै गरी टाउको हल्लाएँ। 

‘रात्री क्लबमा झुक्किएर पनि नजानु‘ छुट्टिने बेलामा मैले भनें। उसले केही बोलिन। आमालाई पठाई दिनु भनेर सानो पोको मेरो ह्याण्डक्यारीमा राखिदिई। छुट्टिने बेलामा ग्वार्लाम्म अँगालो मारी। गहभरि आँशु पारी। 

दुई वर्षपछि भेट भइहाल्छ नि भन्दै म भित्र पस्न खोजें। 
‘तिम्रो जस्तो ढुंगाको मन छ र‘ उसले भनी। 
भित्र पुगेर सिसाबाट बाहिर हेर्दा उ मलाई विदाइका हात हल्लाइरहेकी थिई। आँखा भरिएका नै थिए। यताउति हेरें। सबै आ–आफ्नो सुरमा देखें। त्यही मौकामा दायाँ हातका चार औंला ओठमा पुर्याएँ र उतर्फ फालेर मुस्कुराएँ। उसले हाँसो थाम्न सकिनँ।

‘नाकाबन्दी झेल्न आइपुगियो‘ त्रिभुवन विमानस्थलमा पुगिसकेपछि लेखेको फेसबुक स्टाटसमा कोठामा पुगुञ्जेल धेरैले कमेन्ट गरिसकेका थिए– बुद्धी नभएपछि त्यस्तै हो।

मान्छे अमेरिका जान लाखौं खर्च गरिरहेका छन् तलाईँ के खान नेपाल फर्कनु परेको?
तेरो दिमागमा राष्ट्रियताको सैतान रैछ।
ग्रिनकार्डको लाइन छोडेर पेट्रोलको लाइन बस्न आउनेको मगज खुस्केको हुन्छ। यस्तालाई पाटन अस्पतालमा भर्ना गरियोस्।

कमेन्ट पढ्दा पढ्दै आभा लिम्बुको सन्देश आयो– हलो मिस्टर पत्रकार, पुगें पनि भन्नु पर्दैन।
‘स्टाटस लेखिसकें त।‘
‘मैले पनि त्यही स्टाटसमा चित्त बुझाउनु पर्ने?‘ उसले भनी।
हनिमुन कस्तो भइरहेको छ? मैले प्रतिप्रश्न गरें।
उसले पानको पातको चिन्ह पठाई र लेखी– दुई वर्ष दुई जुनीजस्तो लाग्न थाल्यो। मिस यु टु मच मिस्टर पत्रकार, तिमीले मलाई मोहनी लगाइसक्यौ।  

अचेल पेट्रोलको लाइनमा बस्दा होस् या हिँड्दै अफिस आउँदा जाँदा मपनि उसको यादमा एकोहोरिन्छु। सोच्दासोच्दै शंका लाग्छ– कतै उ रात्री क्लबमा काले केटासँग हात समाएर नाचिरहेकी छ कि।

Friday, January 29, 2016

झ्यालतिरकी युवती - भाग २


सेतो पाटी बाट साभार 
लेखक : भानुभक्त 
हेलो मिस्टर पत्रकार, सञ्चै छौ?
क्याफेको गेटमा गुलाबी रङको स्कुटर रोकेर उसले मलाई हात हल्लाई।
साढे चार बजे आउँछु भनेकी थिई। घडीको सुई साढे पाँचमा पुगेपछि मात्र उ देखिई। कुर्दाकुर्दै मलाई वाक्क लागेको थियो। अलिअलि रिस पनि उठ्यो।
उसले घाँटीमा बेरेको मफलर निकाली। आँखाको गगल्स कपालमा पुर्‍याई। छेउको डस्टबिनमा चुइगम थुकी। टेबलमा झोला राखेर भनी – सरी ल म अलि ढिला भएँ।
मैले त्यतिञ्जेल केही बोलिनँ। के खान्छौ भनेर एकफेर मलाई नसोधी दुई कप मिल्क कफी अर्डर गरी।
आफूले दसैंमा सुर्खेतसम्म पुगेर गरेका रमाइला अनुभवबारे साथीहरुलाई भन्दा उनीहरुले जिब्रो टोकेको कुरा निकाली। उसले कसरी त्यसो गर्न सकी भनेर उसका साथीहरु आश्चार्यमा परेको बताई–तिनीहरुलाई के थाहा म कति स्मार्ट छु भनेर।’
सबै सुनिसकेपछि उसका कुरालाई वास्तै नगरी मैले सोधें, ‘आमाले तिहारमा तिमीलाई घर बोलाउनु भएको छ, माइती जाने कि सुर्खेत जाने?’
तिमी जाने भए पाँचथर जाने हो नत्र काठमाडौंमै बस्ने। जिपको छतमा चढेर, त्यत्रो दुःख गरेर को जान्छ तिम्रो गाउँ।
वेटरले विल ल्यायो। उसले झोलाबाट पर्स निकाली।
खल्तीबाट पैसा निकाल्दै मैले भनें, ‘हाम्रोतिर स्वास्नीलाई पैसा तिराउने चलन छैन।’
उसले ठूल्ठूला आँखाले मलाई हेरी। अनुहार रातोपिरो बनाई। एक घण्टा कुराएको रिस मलाई अझै मरेको थिएन। पैसा तिरेर उसलाई बाइ भनेर म क्याफेबाट निस्किएँ।
झमक्कै अध्याँरो भइसकेको थियो। झम्सिखेलबाट कीर्तिपुरका लागि पैदल सडक नाप्न थालेँ। केही पर पुगेपछि बेस्सरी स्कुटरको हर्न बज्यो। म रोकिएँ। उस्ले मेरो अगाडि घ्याच्च स्कुटर रोकेर भनी– आउ बस म पुर्‍याइदिन्छु।
‘हाम्रोतिर स्वास्नीले चलाएको सवारीमा चढ्दैनन्’ मैले भने।
उसले केही बोलिनँ। हेल्मेट फुकाल्दै पछाडितिर सरी।
मैले स्कुटरको एक्सिलेटर बटारेँ। कीर्तिपुर पुगुञ्जेल हामीबीच बोलचाल भएन।
कोठा लिएको घरको गेटमा पुगेपछि मैले टाउकोबाट हेल्मेट निकाल्दै भनेँ– स्कुटर राम्रो रैछ। त्यतिञ्जेल रिसको पारो झरिसकेको थियो। 
उसले प्रतिक्रिया जनाइन। हेल्मेट लगाउन खोजी।
‘लोग्नेको कोठा हो, हेरेर जाऊ’, मैले भनें।
ऊ मेरो पछिपछि लागी।
भान्छामा बाटाभरि जुठा भाडा भरिएका थिए। टोकरीमा केही सडिसकेका तरकारी थिए। कोठाभित्र पस्नासाथ उसले चोर औला र बुढी औंलाले नाक थुनी।
सुत्ने कोठामा ओछ्यान पनि मिलाएको थिएन। बिहान उठेकै हालतमा सिरक डसना थिए। हप्ताभरी लगाएका कपडापनि उल्टासुल्टा बनाएर ह्यांगरमा थिए। कुर्सी देखाउँदै भनें– बस म खाना पकाउँछु।
भैगो मलाई हतार छ भनेर ऊ निस्की। मैले बस्न कर गरिनँ।
दिउँसो एक प्लेट मःम खाएको सम्झिएँ, त्यतिभए  जुठा भाडा माझेर कसले भात पकाइरहोस्। हातखुट्टा धोइवरी ओछ्यानमा पल्टेर ल्यापटप अन गरेँ।
एकछिनपछि मेसेन्जरमा आभा लिम्बूको सन्देश आयो– मिस्टर पत्रकार, तिमी कन्जरभेटिभ त छौ नै साह्रै फोहोरी पनि रै’छौ। 
***
‘हाम्रोतिर लोग्नेको नाम काढ्दैनन्’ खाना खाने बेला मैले भनें।
‘ह्या के फरक पर्छ र?’ उसले भनी ‘फेरि मैले कहिले तिम्रो नाम काढेकी छु र?’
‘मेरा कुनैपनि साथीकी श्रीमतीले लोग्नेलाई हेलो मिस्टर मास्टर, दुकानदार, डाक्टर, खरदार, सुबेदार, पत्रकार भनेर बोलाउँदैनन्’, मैले भनें ‘तिनीहरुका अगाडि तिमीले मिस्टर पत्रकार भनेर बोलायौ भने मलाई जोइटिंग्रे भन्दैनन्।’
ऊ मौन रही।  मैले थपें– आफ्नो लोग्नेलाई तपाईँ, हजुर, उहाँ भनेको कति राम्रो सुनिन्छ। अझ हाम्रोतिर त लोग्नेको नाम आउने शब्द भन्नु पर्‍यो भने पनि त्यो शब्द उच्चारण नगरिकनै काम चलाउँछन्।
‘तिमी साह्रै कन्जरभेटिभ छौ क्या’ उसले भनी ‘नचाहिने कुरा नगर, बरु छिटो खाना खाएर अफिस जाऊ।’
प्या...प्या... बेस्सरी बजेको हर्नको आवाजले मेरा आँखा खुलेका थिए। पर्दा खोलेर झ्यालबाट चियाउँदा गेटमा ऊ उही गुलाबी स्कुटरमा उभिएर कोठाको झ्यालतिर हेर्दै हर्नको बटन दबाइरहेकी थिई। घरका अरु सबै कोठामा ताला लागेको थियो। मैले नै गेट खोलिदिएँ। स्कुटरको स्टान्ड लगाउँदै उस्ले  भनी – मिस्टर पत्रकार, तिमी कन्जरभेटिभ र फोहोरी त छौ नै  साह्रै अल्छी पनि रै’छौ। सात बजेसम्म पनि कोही सुत्छ।
मैले कुनै जवाफ फर्काइन्। राति २ बजेसम्म फिल्म हेरेकाले मेरा आँखा पोलिरहेका थिए। बस्दै गर भनेर म फेरि ओछ्यानमा पल्टिएँ।
‘मिस्टर पत्रकार, खाना तयार भयो’ उसले मलाई हल्लाएपछि मात्र म ब्युझेँ। खाना खान बस्दा म छक्क परेँ। भान्छा यति सफा राख्न सकिन्छ भन्ने मैले कहिल्यै सोचेको पनि थिइनँ। उसले खाना पस्की। कहिलेकाँही मैले पकाउने चामलकै भात उसले के गरी पकाई स्वादै अर्को थियो।
उसले कम मैलिएको मेरो एक जोर सर्ट पाइन्टमा आइरन लगाई। लुगा लगाएपछि पाइन्टभित्र हालेको सर्ट र कलर पनि मिलाई। जुत्तामा पालिस लाएर टलक्क टल्काई। जेल लगाएर कपाल ठाडा पारेपछि ऐना देखाएर भनी– ह्याण्डसम भएनौ त?
‘आज बाटोमा कति केटीले साइड हानौं?’ मैले भनें ‘नत्र त ह्याण्डसम भएको कामै लागेन।’
‘बदमास’ उसले भनी ‘अब मेरो अफिस विदा भइसक्यो, स्कुटर लिएर जाउँ,  साँझ छिटो आउनु नि। मैले ब्ल्याकमा किनेर फुल ट्यांकी तेल हालेकी छु। तिम्रो छुट्टीको दिन नजिकै कतै घुम्न जाउँला। बिहान जाने साँझ फर्किहाल्ने।
मैले उसको योजनामा कुनै प्रतिक्रिया जनाइन।
स्कुटर कुदाउँदै म अफिस हुइकिएँ। अफिसमा दिनभरि मनमा ऊ किन यी सब गरिरहेकी छ भनेर तर्कना खेलिरहे। 
***
‘यो हाम्रो साँच्चै सुहागरात हो, आउँ सँगै सुतौं।
ऊ पलङमा बसेकी थिई। म कालो फम माथि डसना बिछयाएर भुईंमै पल्टिएको देखेर उसले भनी। दिनभरि लागेर कोठा चिटिक्क पारेकी थिई। ओछ्यान त विशेष सिँगारेकी थिई।
‘सुहागरात हो भन्दैमा तिमीलाई छोएँ भने बलात्कारको मुद्दामा म जेल जानुपर्छ’ मैले कोल्टे फेर्दै भनें।
‘तिमी कस्तो कुरा बुझ्दैनौ क्या, त्यो दिन र आज कहाँ उस्तै  हो र, आज म आफैं तिमीलाई निम्तो दिइरहेकी छु’ उस्ले थपी– मर्द होइनौ र?
स्त्री भेट्यो भने झम्टिहाल्ने मर्द म होइन। मेरो घरको कोठामा तिमीले मलाई दिएको पीडाको बदला यो भाडाको कोठामा बराबर हुन सक्दैन। तिमीलाई थाहै छ, म साह्रै कन्जरभेटिभ पनि छु।
त्यसपछि ऊ केही बोलिन। लामो श्वास तानी। दुबै हत्केला निधारमा लगाई।
म सिरक ओढेर गुटुमुटु भएँ। निदाएको अभिनय गरें। अबेरसम्म उ पलङमा ओल्टेकोल्टे फर्केर छटपटिएजस्तो लाग्थ्यो।
बिहान साढे सात बजेतिर मोबाइलको घण्टीले ब्युझिएँ। बहिनीको फोन थियो– दाइ कहिले पुग्नुहुन्छ?
मैले हाई काट्दै भनें– कहाँ?
‘ठट्टा नगर्नु भोलि लक्ष्मी पूजा भइसक्यो’ बहिनीले भनी।
सुन् न अफिसमा काम परेर म त आउन भ्याउन्न होला?
‘यो वर्ष पनि बोटको फूल बोटमै सुकाउनु हुने भो’ बहिनीले भनी ‘तपाईको अफिसलाई के थाहा मैले प्रत्येक वर्ष एउटा सयपत्री (हजारी) फूल तपाईंकै लागि रोप्छु भनेर।’
‘होइन अफिसमा त छुट्टी नै हो तर तेरी भाउजु नजाउँ भन्छे’ मैले अर्को बहाना बनाएँ। 
भाउजू कहाँ हुनुहुन्छ, दिनु त म कुरा गर्छु।
पलङ हेरें। खाली थियो। ‘बाथरुम गएकी छे, आएपछि फोन गर्न लगाईदिन्छु’ भनेर फोन राखेँ।
उठेर हेर्दा पलङमा सिरक डसना मिलाएर राखेको थियो। ऊ न किचनमा थिई न बाथरुममा। झ्यालबाट तल हेरें, उसको गुलाबी स्कुटर पनि थिएन।
फोन गरें, स्वीचअफ भन्यो। केही सन्देश पो छोडेकी छकि भनेर फेसबुक हेरें। आभा लिम्बूको सन्देश थियो– तिमीलाई मैले धेरै थोक ठानेकी थिएँ। धेरै सपना पनि बुनेकी थिएँ, तर  तिम्रा लागि म सिर्फ बसमा भेटिएकी एक उत्ताउली युवती रहेछु। जोसँग तिमी बदला लिने योजनामा छौ। म तिमीजस्ता सबै पुरुषलाई घृणा गर्छु।
उसको सन्देश पढेर म रनभूल्लमा परेँ। बसमा उसलाई भेटेदेखि त्यो बिहानसम्मका यादले भाउन्न लाग्यो। किन उसले मेरो घरमा बिहेको नाटक गरी? किन मेरो कोठामा आएर बसी? र किन बेपत्ता भई? जति सोचेपनि आफ्नै चित्त बुझाउन सकिनँ।
अचेल घरिघरि लाग्छ मै पो गलत हुँ कि। अझ अफिस आउँदा जाँदा बाटोमा गुड्ने प्रत्येक स्कुटरलाई नियाल्छु। गुलाबी रङका स्कुटर देखेँ भने मुटु बेस्सरी धड्किन्छ। सोच्छु आभा लिम्बू मेरो अगाडि घ्याच्च स्कुटर रोकेर हात हल्लाउँदै भन्छ कि– हेलो मिस्टर कन्जरभेटिभ पत्रकार, सञ्चै छौ?
क्रमस...........